- डा. टीकाराम पोखरेल
आउँदो ३० वैशाख २०७९ का लागि ७५३ वटा स्थानीय तहमा निर्वाचनको घोषणा भएको छ। केही विश्लेषक र प्रतिपक्षको यो सरकारले चुनावै गराउँदैन, चुनाव टार्न खोजिरहेको छ, चुनाव ढिला गर्न खोजिरहेछ भन्ने जस्ता अभिव्यक्ति र आशंकाका बाबजुद सकारबाट निर्वाचनको घोषणा हुनु र निर्वाचन आयोगले धमाधम निर्वाचनको तयारी गर्नुलाई सुखद मान्नुपर्छ।
चुनाव हुन्छ कि हुँदैन भन्ने बहसको तराजु हुन्छ नै भन्नेतिर ढल्कँदै गएपछि अब चुनाव कसले जित्ला भन्ने बहस सुरु भएको छ । तर चुनाव कसले जित्लाभन्दा अगाडि भोट कसलाई दिने भन्ने बहस हुनु अत्यन्त आवश्यक छ । चुनाव कसले जित्छन् र चुनाव किन जित्छन् ? यो धेरै गहिरो विश्लेषणको विषय हुनसक्ला । तर सतहमा कुरा गर्दा जसले जनताको मन जितेर काम गरेको छ वा जसले भविष्यमा काम गर्न सक्छ भन्ने जनताको विश्वास जितेको छ तिनले नै यो चुनाव जित्छन् । विकसित मुलुकमा जनता सामान्यतयाः नयाँ विकल्प र परिवर्तनको खोजीमा हुन्छन् । भरपर्दो र आशालाग्दो वैकल्पिक शक्ति नभेटेसम्म मात्र जनताले पुरानालाई मत दिइरहन्छन् । पुरानालाई मत दिँदा पनि आलोपालो गरेको देखिन्छ ।
अमेरिका, बेलायत, भारत, बंगलादेशजस्ता देशहरुको उदाहरण मात्रै हेर्ने भने पनि पार्टीहरु आलोपालो चुनाव जितेका छन् । हाम्रो देशमा पनि आलोपालो जस्तै चलेको छ। विडम्बना चाहिँ के छ भने विकसित मुलुकमा जनताहरु सधैँ विकल्पलाई बढी महत्व दिन्छन् । तर नेपालजस्तो अल्पविकसित देशमा जनता नयाँ विकल्पमा जाने आँट गर्दैनन् । आँट नगर्नुको कारण प्रष्ट छ जनताले भरपर्दो नयाँ विकल्प पाएकै छैनन् । देखिएका केही नयाँ अनुहारलाई पनि विश्वास गर्न सकिरहेका छैनन् । अथववा ती नयाँ अनुहारले जनताको विश्वास जित्न सकेका छैनन्। जबसम्म विश्वासयोग्य नयाँ विकल्प हुँदैन, तब जनता यथास्थितिको चङ्गुलमा परिरहन्छन् । नेपालमा केही देशकदेखि यथास्थितिवादी शक्तिकै प्रभाव छ।यथास्थितिवादी शक्तिले जनतालाई परम्परागत मानसिकताबाट बाहिर निस्कन नदिने कसरत सधैँ गरिरहन्छन् । पुख्यौलीसँग पार्टीको सम्बन्ध जोड्नेदेखि पार्टी संगठनमा आबद्ध भएको स्मरण र बाध्यता गराएर मत लिन्छन् ।
पार्टीबाट स्वार्थ लुट्न जानेका केही अगुवा भनाउँदाहरुले पनि जनतालाई भ्रमको जालोमा पारेर मत जम्मा गर्दछन् र पार्टीलाई बुझाएर आफ्नो स्वार्थ पूर्ति गर्छन् । जनतालाई मत बैँकको रुपमा प्रयोग गर्ने यस्ता क्रियाकलाप विकासोन्मुख मुलुकमा चलिरहन्छन् । देशलाई समृद्धितर्फ लैजाने कामको अगुवाइ गर्ने राजनीतिक नेतृत्वले नै हो । त्यसैले जनताले सही राजनीतिक विकल्प छान्न सक्नु पर्छ जसले देशलाई समृद्धितर्फ लैजाओस् । जिम्मेवार नागरिक अन्धधुन्ध कुनै पार्टीको पिछलग्गु बन्नुहुन्न ।
कुनै नेताको अन्धभक्त पनि बन्नुहुन्न । नागरिक नेताको होइन विकास र समृद्धिको पक्षधर हुुनुपर्छ । यथास्थितिवादी नेता र पार्टीको अन्धभक्त भएर दूरदृष्टि भएका नेता गुमाउनु भनेको आफूले आफूलाई अन्याय गर्नु मात्र होइन, देशप्रति पनि अन्याय गर्नु हो। देशलाई कुनै विकास र निकास दिन नसक्नेहरुलाई चुनावमा पराजित गर्नु जनताको कर्तव्य हो । देशले परिवर्तन र समृद्धि खोजको हुन्छ। अबको एजेण्डा परिवर्तनको हो । यथास्थितिको होइन। अब हिजो कसले के गर्यो भन्ने भन्दा पनि भोलि कसले के गर्न सक्तछ भन्ने हो। भविष्यको जनप्रतिनिधि हिजोको जनप्रतिनिधिभन्दा बढी काम गर्न सक्ने हुनुपर्दछ।
जो सम्भावना बोकेको उम्मेदवार छ, उसलाई मत दिनुपर्दछ। आवधिक निर्वाचन भनेकै पार्टी र उम्मेदवारको विकल्प छनौट गर्नका लागि हो । सधैँ एउटै पार्टीले मात्र शासन गरिरहने भए किन आवधिक निर्वाचन गरिरहनुपथ्र्यो ? त्यसैले लोकतन्त्रले दिएको छनौट गर्ने अवसरको जनताले सदुपयोग गर्नुपर्छ, तर यो अवसरलाई यथास्थितिको मानसिकतामा रहेर पूरा गर्न सकिँदैन । अग्रगामी र परिवर्तनशील मानसिकता भए मात्र परिवर्तनलाई आत्मसात गर्न सकिन्छ ।
केही व्यक्तिको परम्परागत मानसिकता कस्तो पनि छ भने चुनावमा मत दिँदा अनुभव भएको व्यक्तिलाई दिनुपर्छ । कपाल फुलेका उम्मेदवारको अपेक्षा गरिन्छ । तर यो विल्कुल यथास्थितिवादी मानसिकता हो । अनुभवले मात्र काम हुँदैन, काम त क्षमताले हुन्छ, योग्यताले हुन्छ, दृष्टिकोणले हुन्छ, जोशले हुन्छ, जाँँगरले हुन्छ, मेहनतले हुन्छ, इमान्दारिताले हुन्छ । अनुभव भन्ने कुरा काम पाएपछि मात्र प्राप्त हुने हो । अनुभवीलाई मात्र मत दिने हो भने संभावना बोकेकाहरुले कहिले मौका पाउने ? हरेक संभावना बोकेको क्षमतावान् मान्छे पहिलोपटक त अनुभवहीन नै हन्छ, जबसम्म उसले अनुभव बटुल्ने जिम्मेवारी पाउँदैन ।
योग्य व्यक्ति छनौट गर्ने हो भने स्थानीय चुनावमा यो परम्परागत मानसिकताबाट माथि उठ्नै पर्छ।विकसित मुलुकमा जुझारु व्यक्ति खोजिन्छ र चुनिन्छ । नेपालमा चाहिँ किन सधैँ यथास्थितिमा रुमलिने ? नेपालमा किन सधैँ पुरानै पार्टी र व्यक्ति ? यसको अर्थ यो होइन कि पुरानालाई मत दिनु हुन्न । यसको अर्थ यो हो कि पुरानोको नाममा मात्रै चाहिँ मत दिनु हुन्न । उम्मेदवार सक्षम छ भने पुरानालाई बहिष्कार नै गर्नु भने पर्दैन । हिजो जिम्मेवारी पाउँदा देश र जनताको लागि केही गरेको छ भने उसलाई मत दिन सकिन्छ । यदि केही गरेको छैन भने किन भोटो, मोटो र फोटोकै भरमा सधैँ एउटै मात्र व्यक्तिले सत्तामा बसिरहने ?
के यो देश कुनै पार्टी वा नेता विशेषको पेवा हो र ? अतः कुनै पनि नागरिकले मत लहैलहैमा नदिउँ । आफूलाई मन परेको पार्टीको झण्डा बोकेकै भरमा पनि मत नदिउँ । मत घोषणापत्रकै भरमा पनि होइन । बरु घोषणापत्रमा उल्लेख गरिएका कुराहरु पूरा गर्ने योजना र कार्यक्रम के छन् ? मत माग्न घरदैलोमा आएका उम्मेदवार र पार्टीलाई त्यो प्रश्न सोधौँ । जुन उम्मेदवारसँग आफ्नो घोषणापत्रमा उल्लेख भएको कुरा पूरा गर्ने योजना पनि छ, ऊ सक्षम पनि छ र उसले गर्छ भन्ने मतदातामा विश्वास पनि छ भने मात्र त्यस्तो उम्मेदवारलाई मत दिउँ । भनिन्छ– राजनीतिमा तपाईँले गलत मानिसलाई मतदान गर्नुभयो भने वा मतदानमा नै भाग लिनु भएन भने तपाईं खराबबाट शासित हुन तयार हुनुपर्छ ।
तपाईं मात्र होइन सम्पूर्ण जनताले खराब मानिसबाट शासित हुनुपर्दछ । देशले दुर्नियति भोग्नुपर्छ । हामीले मात्र होइन हाम्रो भावी पुस्ताले समेत दुख पाउँछ।त्यसैले सही उम्मेदवारलाई मत दिनु हरेक नागरिकको कर्तव्य हो । पछिल्लो समय ‘नो भोट’को अधिकारको बहस पनि चलेको छ। नो भोट पनि गर्न सकिन्छ । तर त्यो भनेको मतदानमा भाग लिएर नो भोट गर्ने हो । मतदानमै भाग नलिएर चाहिँ नो भोट हुँदैन। भोटै नहाल्नु भनेको चाहिँ लोकतन्त्रको अभ्यासमै भाग नलिनु हो र लोकतन्त्रको अभ्यासमा सहभागी नहुनु भनेको नागरिक दायित्वबाट विमुख हुुनु हो । त्यसैले लोकतन्त्रको अभ्यासबाट बञ्चित भएर कर्तव्यविमुख नबनौँ ।
अबको युगमा मत जोसलाई दिने हो, जाँगरलाई दिने हो, योजनालाई दिने हो, कार्यक्रमलाई दिने हो । जस्तोसुकै योजना र कार्यक्रम भए पनि पार्टीको झण्डा बोकेकै भरमा जोश र जागर नभएका र होस गुमाएकालाई मत दिने हो भने त्यसले यथास्थितिलाई निरन्तरता दिने बाहेक केही गर्दैन । यथास्थितिमा बस्ने कि अग्रगामी पाइला चाल्ने ? त्यो हाम्रै हातमा छ । अहिले उपयुक्त मौका हो । सोचेर मतदान गरौँ । यदि तपाईंले मतदान गर्नु अगाडि सोच्नु भएन भने तपाईँ खराबबाट शासित हुनुपर्छ, अरुलाई पनि खराबबाट शासन गराउनुहुन्छ । तपाईंले देशलाई धोका दिनुहुन्छ । मातृभूमिप्रति गद्दारी गर्नुहुन्छ । त्यसैले भोट दिनु अगाडि सही पार्टी खोजौँ, सही मान्छे रोजौँ, जसको नीति उसको नेत्र्तवो अनि मात्र स्वस्तिक छाप ठोकौँ ।
साभार