बैशाख – ७
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् । सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको थियो । सरकारको उक्त निर्णयविरुद्धमा अधिकारी सर्वोच्च अदालत गएका थिए । न्यायाधीश हरि फुयाँलको एकल इजलासले अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वय नगर्न र पदमा रहेर काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशसँग उनी आज राष्ट्र बैंकको कार्यालयमा गएर हाजिर भएका हुन् । काममा फर्किएका गभर्नर अधिकारीले सर्वोच्चको आदेश आफ्नो लागि भन्दा पनि समग्र सिस्टमको लागि आएको बताए । ‘यो समग्र सिस्टमको लागि आएको आदेश हो । यहाँहरूले पनि मेरो लागि भन्दा पनि सिस्टमको लागि भनेर लागि पर्नु भएको छ,’ गभर्नर अधिकारीले भने, ‘त्यसका लागि सबैलाई धन्यवाद र आभार प्रकट गर्दै म आफ्नो जिम्मेवारीमा फर्किन चाहन्छु ।’