म्याग्दी ।
३० वैशाखमा गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार बनेकी छिन् ।
नेकपा माओवादी केन्द्रले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छिन् ।
नेकपा माओवादी केन्द्रको रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिए ।
‘म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?’, मीनाले हरेकजसो सभा र भेलामा भन्छिन्, ‘यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौति पनि हो । हामी कति दिन अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।’
मीनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्न आएकाका आँखा रसाउने गर्छन् ।
बेनी नगरपालिका–१० पात्लेखेत माइती भएको मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो । अनेरास्ववियु क्रान्तिकारी र वाइसिएलमा आबद्ध भएकी उनी विवाहपछि राजनीतिमा निष्क्रिय रहेकी थिइन् ।
गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आउनुभएकी मीना पछिल्लो समय पार्टीसँग सम्बद्ध भएर उम्मेदवार बनेकी हुन् । उनका जेठा छोरा १० वर्षका छन् । दुई वर्षका छोरा बोकेर भोट माग्न घरदैलो अभियानमा उनी व्यस्त हुन्छिन् । मिनाका श्रीमान् पनि सँगै चुनाव प्रचारमा हिड्छन् ।
www.benionline.com